- This event has passed.
३४ औं नेपाली भाषा मान्यता दिवस कार्यक्रमका
August 20, 2025 @ 8:00 am - 5:00 pm
दिनाङ्क २० अगस्ट २०२५ को दिन साउथफिल्ड महाविद्यालयमा ३४ औं नेपाली भाषा मान्यता दिवस भव्य रुपले मनाइयो। यस कार्यक्रमका अध्यक्षता महाविद्यालयका प्राचार्या डा अनुराधा राईले गरेकी थिइन् भने प्रमुख अतिथिको रूपमा भूतपूर्व सांसद एवं भाषा सङ्ग्रामी आर बी राई उपस्थित थिए। कार्यक्रमको आरम्भमा अध्यक्ष डा अनुराधा राई, प्रमुख अतिथि आर बी राई, विशिष्ट अतिथि धनकुमार देवान, शिक्षक परिषदका सचिव एवं नेपाली विभाग प्रमुख श्री निरज राई, महाविद्यालयको आंतरिक गुणवत्ता मूल्यांकन एवं प्रात्यायन प्रकोष्ठका समन्वयक श्री विशाल छेत्रीद्वरा दीप प्रज्ज्वलन गरियो।
स्वागत सम्बोधनमा डा महेश प्रधानले नेपाली भाषाको औचित्य अनि भाषा मान्यता विषयमा गहन कुराहरु राखे। महाविद्यालयको पक्षबाट प्राचार्या अनुराधा राईले प्रमुख अतिथि श्री आर बी राईलाई फूल, शल, स्मृति चिह्न प्रदान गरेर सम्बर्द्धना गरिन्। नेपाली विभागकी प्राध्यपिका अल्का शर्माले सम्बर्द्धित व्यक्तिका परिचय प्रस्तुत गरिन् भने सम्बर्दधना पत्र प्रा कुशल घिमिरेले पठन गरे। प्रमुख अतिथिको वक्तव्यमा श्री आर बी राईले नेपाली भाषा मान्यता आन्दोलनसँग सम्बन्धित धेरै महत्वपूर्ण तथ्यहरुलाई समेटदै भाषा आन्दोलनकालमा झेल्नु परेका अड्चनहरु, भाषा सङ्ग्रामीहरुको निस्वार्थ त्यागहरुमाथि पनि प्रकाश पारे।
कार्यक्रममा नेपाली विभाग तेस्रो अनि पाँचौं सत्रका छात्राहरूले नृत्य प्रस्तुत गरे भने अङ्गेजी विभागकी छात्रा नेहा गहतराजले एकल गायन प्रस्तुत गरिन्। कविता वाचनका क्रममा प्रा. प्रतिष्ठा गुरूङ, प्रा. ममता कुमारी मिश्रा, प्रा. नम्रता तामाङ, प्रा. विशाल छेत्री, प्रा. कुशल घिमिरे अनि विद्यार्थीहरूमा सुश्री श्रेया गुरूङले मीठा स्वरचित कविताहरू वाचन गरे। कार्यक्रमको अर्को चरणमा नेपाली विभागकी छैटौं सत्रकी छात्रा सुश्री रोशनी मोहरालाई नेपाली विभागमा उच्च अङ्क प्राप्त गरेवापत् पूर्व प्रा. धनकुमार देवानको बाहुलीबाट पृथ्वीमान जसहाङ स्मृति शैक्षिक पुरस्कारका रूपमा नगद पाँच हजारसहित पारितोषक प्रदान गरियो । अध्यक्षको सम्बोधनमा प्राचार्या अनुराधा राईले नेपाली भाषा ऐतिहासिक एवं सांस्कृतिक धरोवर हो भन्ने मन्तव्य राखिन्।
कार्यक्रममा धन्यवाद ज्ञापन प्रा. कुशल घिमिरेले राखेका थिए भने सम्पूर्ण कार्यक्रमलाई भूगोल विभागकी डा. सुजाता बराईलीले सञ्चालन गरेकी थिईन्।
